जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काँक्राबारीमा अनधिकृत रूपमा जग्गा प्लटिङ भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार साँझ ४ बजे गरेको अनुगमनमा क्रममा बिनास्वीकृति ४५० रोपनी क्षेत्रफलमा प्लटिङ भएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले तत्काल काम रोक्न निर्देशन दिनुभएको छ ।
तत्कालका लागि काम रोकेर यस क्षेत्रमा के कस्तो क्षति भएको यकिन गरी प्रतिवेदन तयार गरेपछि मात्र प्रशासनले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ। सूर्यविनायक नगरपालिका र वडा कार्यालयलसँग जग्गा सम्याउने स्वीकृति लिएर व्यवसायीहरूले अनधिकृत जग्गा प्लटिङ गरिरहेको नगरपालिकाले जनाएको छ । ३० वटा भन्दा बढि एक्सकाभेटर प्रयोग गरेर भिरालो जमिन सम्याइरहेको र प्लटिङ गर्न उपत्यका विकास प्राधिकरणले तत्कालका लागि स्विकृत नदिएका कारण स्वीकृति लिएर मात्रै प्लटिङ गर्न प्राधिकरणका पदाधिकारीहरूले निर्देशन समेत दिएका छन् ।
वन क्षेत्र मिचेर प्लटिङ भइरहेकाले वन ऐन अन्तर्गत कारबाही हुने डिभिजन वन कार्यालयले समेत जनाएको छ । यसैगरी नापी कार्यालयले उक्त क्षेत्रमा वन क्षेत्र र निजी जग्गा सीमांकन गरिसकेको छ । उक्त प्लटिङ निक भुजिकिक हाउजिङ कम्पनीले गरिरहेको बताइएको छ । प्लटिङ गर्दा खानेपानीका मुहान समेत पुरिएको र भविष्यमा पहिरो जान सक्ने खतरा पनि बढेको बताएका छन् । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयभक्तपुरका प्रमुख, सुरक्षा निकाय, नगरपालिका, वन कार्यालय, सामुदायिक वनका प्रतिनिधि र वडा कार्यालयका प्रमुख लगाएतको उपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी भण्डारीले जानकारी दिनुभयो ।
Related