
ललितपुर । सः दबू साहित्यको सातौं संस्करणअन्तर्गत २८ जना स्रष्टाले विभिन्न विधाका साहित्यिक रचना वाचन गरेका छन्। ललितपुरको तलाछें टोलमा आइतबार आयोजित विशेष साहित्य वाचन कार्यक्रममा नेपालभाषाका हाइकु, कविता, गजल, कथा, लघुकथा तथा मुक्तक प्रस्तुत गरिएको थियो।
वि.सं. २०८२ चैत ७ गते शनिबार एकल लघुकथा वाचनको पहिलो संस्करणबाट सुरु भएको सः दबू साहित्यको अभियान सातौं संस्करणसम्म आइपुग्दा विशेष साहित्य वाचन कार्यक्रमका रूपमा विस्तार भएको हो। सुधीर ख्वबि, कविन्द्रलाल प्रधान, समा श्री र सुरेन्द्र भक्त श्रेष्ठको सक्रियतामा सुरु भएको यस अभियानले हरेक महिनाको पहिलो शनिबार साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा शाक्य सुरेन, लुमन्ति चित्रकार र रमेश मानन्धरले मुक्तक वाचन गरे। केदार सितु (जि नं भगवान जुल), दिब्या ताम्राकार (त: पागु लँ) र महर्जन रत्न (अन्तर्द्वन्द्व) ले कथा प्रस्तुत गरे। मोक्षबहादुर अमात्य, सुरेश प्रधान, धर्मकृष्ण सिकर्मी र जयप्रकाश शाक्यले हाइकु वाचन गरे।
लघुकथा विधातर्फ ध्रुव मधिकर्मी (च्युता), माणिक उराय् (आ: छु याय का:!), राजुराम मुनकर्मी (त्यासा), समान्त (सक्षम नारी) र रासाले (त्वाय) ले आफ्ना रचना प्रस्तुत गरे।
त्यसैगरी शैलेन्द्र श्रेष्ठ, बद्री वेदना, रामेश्वर मिश्रण श्रेष्ठ र रामेश्वर जलनले गजल प्रस्तुत गरे। कवितातर्फ मङ्गलनारायण जोशी (स: छग गँ या), प्रदीप रत्न शाक्य (व्याँञ्चुली), महेशमान डंगोल (स्वापु), बसन्त नकर्मी (छ सु? जिपिं सु?), राज अक्षोभ्य (नुग: तंगु स:), सुष्मा चित्रकार (न्हयस), मिमला शर्मा (प्रलयया छुमा) र अमृत मान ज: (आकाश छ कुतुं वये मते न्हा) ले कविता वाचन गरे। आयोजकका तर्फबाट समा श्रीले ‘अष्टमान’ कविता प्रस्तुत गरे।
कार्यक्रममा प्रस्तुत रचनाहरूमा माया, प्रेम, सद्भाव र एकताका विषयसँगै वर्तमान समाजका विकृति र विसङ्गतिमाथि कडा प्रहार गरिएको थियो। साथै रसुवामा भएको बाढी तथा पहिरोबाट सिर्जित पीडा र मार्मिक अवस्थालाई समेत केही रचनामा समेटिएको थियो।
वरिष्ठदेखि कनिष्ठसम्मका स्रष्टाहरूको सहभागिताले एकअर्काबीच परिचय आदानप्रदान गर्नुका साथै साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त भएको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा संस्थाका शुभेच्छुक तथा अग्रज साहित्यकार मोक्षबहादुर अमात्य र मङ्गलनारायण जोशीलाई विशेष पाहुनाका रूपमा आसनग्रहण गराइएको थियो। रचना वाचन गर्ने २७ जना स्रष्टालाई संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने मोक्षबहादुर अमात्यले आफ्नो तर्फबाट नगद उपहारसमेत प्रदान गरेका थिए।
सः दबू साहित्यका सदस्य सुरेन्द्र भक्त श्रेष्ठले संस्थाको ऐतिहासिक पाटोबारे चर्चा गर्दै स्वागत मन्तव्य दिएका थिए। अर्का सदस्य कविन्द्रलाल प्रधानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।
सः दबूका सदस्य समा श्रीको सुन्दर प्रस्तुतिकरणमा सम्पन्न कार्यक्रममा संयोजक सुधीर ख्वबिले सातौं संस्करणका लागि स्रष्टाहरूको छनौट अघिल्ला कार्यक्रमहरूमा सहभागी भएका स्रष्टाहरूको लेखन विधाअनुसार गरिएको जानकारी दिए।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related









Total views : 396176




