भक्तपुर नगरपालिकाद्धारा रिकीसी विधिबाट कम्पोष्ट मल बनाउने १० दिने तालिम सञ्चालन | Jana Aawaj News

भक्तपुर नगरपालिकाद्धारा रिकीसी विधिबाट कम्पोष्ट मल बनाउने १० दिने तालिम सञ्चालन

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुर नगरपालिकाद्धारा रिकीसी विधिबाट कम्पोष्ट मल बनाउने १० दिने तालिम सञ्चालन : Jana Aawaj News
रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने सम्बन्धी दशदिने तालिममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने सम्बन्धी दशदिने तालिमको एक समारोहबीच उद्घघाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको तालिममा बोल्नुहुदै नगर प्रमुख प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने प्रयासमा रहेको बताउनुहुँदै सिंगो भक्तपुरलाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरको फोहर व्यवस्थापनमा दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुरहरु क्रियाशील रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई अझ सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यस विधि उपयोगी हुने बताउनुभयो ।
उहाँले नगरको फोहर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा हाल आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई गन्ध नआउने गरी कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
भक्तपुर कृषि प्रधान र कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएको बताउनुहुँदै उहाँले कुहिने फोहरलाई मलको रुपमा परिणत गर्दा यहाँका किसानहरु लाभान्वित हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट गर्नुहुँदै भक्तपुर नपाले वैज्ञानिक ढंगले कुहिने फोहरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँहरुको अध्ययन अवलोकनपश्चात रिकीसी विधि अपनाउने प्रयासमा रहेको बताउनुभयो । भक्तपुर नपाले आफ्नै स्रोत साधन र कर्मचारीहरुबाट नगरको फोहर व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा रिकीसी कम्पोष्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रुपमा परिचित गर्न फोहरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्ने आवश्यकता रहेका औंल्याउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले फोहोर व्यवस्थापनको प्रविधि वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै यस प्रविधिको प्रयोगबाट भक्तपुर अफ सफा नगरको रुपमा परिचित हुनेमा विश्वास व्यक्त गर्नुभयो । रिकीसी कम्पोष्ट प्लान्टका दीक्षा श्रेष्ठले रिकीसी कम्पोष्ट विधिबारे संक्षिप्त जानकारी दिनुहुँदै पुरानो प्रविधिबाट वैज्ञानिक ढंगले फोहरमैला व्यवस्थापन गर्नु नै यस विधिको विशेषता भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष एवं वातावरण समितिका सदस्य महेन्द्र खायमली र भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । तालिममा भक्तपुर नपाको फोहरमैला व्यवस्थापनमा कार्यरत ३० जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

+ posts