
काठमाडौें । बुढानीलकण्ठ नगरपालिकाले “बुढानीलकण्ठ सडक खाना महोत्सव” को समीक्षा तथा प्रमाण–पत्र वितरण गरेको छ । आइतबार बुढानीलकण्ठ नगरपालिका हलमा सम्पन्न भएको हो ।
सो अवसरमा कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महोत्सवको समग्र उपलब्धि र व्यवस्थापन पक्षको समीक्षा गर्दै सहभागी व्यवसायीहरूसँग अनुभव आदान-प्रदान गरिएको थियो।समीक्षा कार्यक्रममा जानकारी गराइएअनुसार महोत्सव अवधिमा सहभागी स्टलहरूबाट करिब १ लाखदेखि ३ लाख रुपैयाँसम्मको व्यापार भएको थियो। यसले स्थानीय उद्यमशीलता प्रवर्धन, स्वरोजगार सिर्जना तथा बुढानीलकण्ठको पहिचान र पर्यटन प्रवद्र्धनमा महोत्सवले सकारात्मक योगदान पुर्याएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले महोत्सव सफल बनाउन सहयोग पुर्याउने सबै स्टल व्यवसायी, आयोजक टोली, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले स्थानीय स्वाद, संस्कृति र व्यवसायलाई प्रवद्र्धन गर्ने भएकाले आगामी दिनमा अझ व्यवस्थित रूपमा निरन्तरता दिइने बताउनुभयो। उप-प्रमुख अनिता लामाले पनि महोत्सवमा सहभागी व्यवसायीहरूको सक्रियता र उत्साहको प्रशंसा गर्दै कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले भविष्यमा व्यवसायीहरूको सुझावलाई समेट्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले महोत्सव सफल बनाउन संलग्न सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै स्टल व्यवसायीहरूले दिएका सल्लाह र सुझावहरू आगामी कार्यक्रमहरूमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी स्टल व्यवसायीहरूले महोत्सवप्रति खुशी व्यक्त गर्दै व्यवस्थापन, समयावधि, सरसफाइ तथा प्रचार-प्रसारका विषयमा महत्वपूर्ण सल्लाह र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा महोत्सवमा सहभागी व्यवसायीहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो। बुढानीलकण्ठ नगरपालिकाले स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा पर्यटन प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news




Total views : 317061



