बर्दघाटमा ८१६ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

बर्दघाटमा ८१६ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

७० युनिट रगत संकलन

पढ्न लाग्ने समयः 2 मिनेट
बर्दघाटमा ८१६ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/नवलपरासी ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वी लभ यू फाउन्डेसन’ (Intl. We Love U Foundation) को आयोजनामा बुधबार बर्दघाटमा ८१६ औं विश्वव्यापी रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

बुटवल र बर्दघाट रेडक्रसको प्राविधिक उपस्थिति तथा विशेष सहयोगमा बर्दघाट उद्योग वाणिज्य सङ्घको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सभा अध्यक्ष बिगम तामाङले उपस्थित सम्पूर्ण अतिथि र रक्तदाताहरूलाई स्वागत गर्दै फाउन्डेसनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। उक्त औपचारिक कार्यक्रमको सञ्चालन श्रवण कुमार श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमका मुख्य अतिथि बर्दघाट नगरपालिकाका मेयरले फाउन्डेसनको कार्यशैली र मानवीय संवेदनाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईँहरूले गर्नुभएको यो कार्य निकै सराहनीय छ। रगत दान नै वास्तविक जीवनदान हो। यस्ता सामाजिक कार्यहरूमा नगरपालिकाले आगामी दिनमा अझै बलियो सहकार्य गर्दै जानेछ।

कार्यक्रमका विशेष अतिथि, चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुख विनोद चौधरीले युवाहरूको सक्रियता देखेर आफू प्रभावित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “उर्जाले भरिएका युवाहरूले ‘वी लभ यू’ भन्दै गर्नुभएको स्वागतले नै मलाई धेरै प्रभाव पार्यो। यो कठ्याङ्ग्रिने जाडोको समयमा पनि तपाईँहरूका यी हातहरूले जुन पुण्यको काम गरिरहेका छन्, त्यसका लागि म हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु।”
उहाँले यस्ता गतिविधिहरूलाई अझ अगाडि बढाउन प्रोत्साहन दिँदै आगामी दिनमा ‘वी लभ यू फाउन्डेसन’का कार्यक्रमहरूमा आफ्नो व्यक्तिगत र संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

प्रतिकूल मौसम र जाडोको समयमा पनि युवा र स्थानीयको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा कुल ७० प्याकेट (युनिट) रगत संकलन गरिएको थियाे। संकलित रगतले बिरामीहरूको जीवन रक्षाका लागि ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

 

 

+ posts