ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरुको सहभागिता कम भएका कारण समाज आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेको बताउनुभयो । शासक दलहरुले जनताको चेतनास्तरअनुसार काम गर्न नसकेको बताउनुहुँदै उहाँले भन्नुभयो “सांसदहरु जनताको सेवाभन्दा पनि राज्यको ढुकुटी रित्याउनमै रमाइरहेका छन्” ।

नेपालमा प्रगतिशील सरकार स्थापना गर्न नेमकिपा निरन्तर संघर्षरत रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले राजनीति गर्ने शासक दलहरुले आफ्नो अवसरवादी नीति अघि सार्ने परम्पराले गर्दा नागरिकहरुले राजनीतिलाई हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको बताउनुभयो ।

राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थलाई महत्व दिने हो भने राजनीतिप्रति जनताको विश्वास बढ्दै जाने उहाँले बताउनुभयो । भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा गरेको प्रगति र उपलब्धी सबैको लागि अनुकरणीय रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले विदेशी सहयोगमा निर्मित उपत्यकाका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरुका कारण नेपालको सार्वभौमिकतामाथि आँच पुगेको बताउनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको दशैंको शुभकामना दिनुहुँदै चाडपर्व र संस्कृति प्रगतिशील तरिकाले मनाउनुपर्ने बताउनुभयो । देशको राजनीति राम्रो भए सबै क्षेत्र सन्तुलित र विकसित हुने बताउनुहुँदै उहाँले सरकारले शिक्षा तथा अनुसन्धानमा न्यून लगानीकै कारण आज देश आर्थिक रुपमा पछाडि परेको बताउनुभयो ।

देशघाती एमसीसी सम्झौताको विरुद्ध बौद्धिक समुदायले सशक्त ढंगले आवज उठाउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता ‘गुलियो पोतेको विष’ सरह भएको बताउनुभयो । कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले इन्जिनियर तथा प्राविधिक कर्मचारीहरु समाजसँग घुलमिल भएर काम गर्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेकै कारण आज अरु स्थानीय निकायको तुलनामा भक्तपुर नपाले अनुकरणीय कार्यहरु गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सञ्चालक समितिले गरेका महत्वपूर्ण निर्णय तथा कलेजका गतिविधिहरुमाथि प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथि बिजुक्छेँले कलेजको आयोजनामा विभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न