अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरमा रहेको तीन पोखरीको स्थलगत निरीक्षण (तस्विरमा हेर्नुहोस्) | Jana Aawaj News

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरमा रहेको तीन पोखरीको स्थलगत निरीक्षण (तस्विरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरमा रहेको तीन पोखरीको स्थलगत निरीक्षण (तस्विरमा हेर्नुहोस्) : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ ।

अध्यक्ष बिजुक्छेँ र प्रमुख प्रजापतिसहितको टोलीले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सिद्धपोखरी र निर्माणाधीन भाजुपोखरीको पनि स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको रानीपोखरीलाई पुनः जीवन दिई सराहनीय कार्य गरेको बताउनुभयो । प्राचीन सहरहरूमा पोखरीको महत्व धेरै भएको बताउनुहुँदै उहाँले सभ्यताको विकास र महत्वबारे बुझ्न प्राचीन सम्पदाहरूको विशेष स्थान रहने र त्यसको संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विदेशी सहयोग र अरुको भरमा गर्ने विकास निर्माणका कार्य दीगो नहुने बताउनुहुँदै उहाँले आफ्नै पहल र अगुवाईमा स्वाभलम्बी भई सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरी भक्तपुर नपाले देशकै लागि उदाहरणीय कार्य गरेकोे बताउनुभयो । नेपाल संवत् १६८७ मा तत्कालीन राजा जगज्योर्ति मल्लको पालामा निर्माण भएको रानी पोखरी र त्यसको डिलमा रहेको सत्तल पाटी एवम् देवालीस्थल भक्तपुरकै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूमध्ये पर्छन् । भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा चालीस वर्ष अघि बनेको इतिहास रहेको र उक्त पोखरी जीर्णोद्धारमा हालसम्म रु. २ करोड ७५ लाख बराबरको रकम खर्च भइसकेको रानीपोखरी उपभोक्ता समितिले जनाएको छ ।

भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी उक्त पोखरीको पटक पटक सरसफाई गर्दै आएको र उक्त पोखरीमा प्राप्त प्रमाणहरूको आधारमा मौलिक स्वरुपमै पोखरीको जीर्णोद्धार र निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । हाल उक्त पोखरी परिसरको दक्षिणतर्फ ह्वाङ ह्वाङ पाटी, पूर्व र उत्तरतर्फका प्रवेशद्वार र पाटीहरु निर्माण भइरहेका छन् ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानी पोखरी जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको र पोखरी परिसरमा सौन्दर्यीकरणको कामहरू भइरहेको बताउनुभयो । तीनवटा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणको कार्य अगाडि बढिरहेको बताउनुहुँदै उहाँले पुनःनिर्माणको सम्पूर्ण कार्य छिटै सम्पन्न हुने र सर्वसाधारण जनताको निम्ति पोखरी खुल्ला हुने बताउनुभयो ।

भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य २०७६ जेठ १५ गतेबाट सुरु भएको र करिब ३ महिना पश्चात् जीर्णोद्धार कार्य सम्पन्न हुने भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।

उक्त निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी सन्तोष कार्की, भनपा वडा न. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, उपभोक्ता समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

+ posts