इन्टिग्रिटी आइकन २०२१ बाट सम्मानित भईन भक्तपुर अस्पतालको प्रमुख डा.सुमित्रा गौतम | Jana Aawaj News

इन्टिग्रिटी आइकन २०२१ बाट सम्मानित भईन भक्तपुर अस्पतालको प्रमुख डा.सुमित्रा गौतम

पढ्न लाग्ने समयः 2 मिनेट
इन्टिग्रिटी आइकन २०२१ बाट सम्मानित भईन भक्तपुर अस्पतालको प्रमुख डा.सुमित्रा गौतम : Jana Aawaj News

काठमाडौं । इन्टिग्रिटि आइकन नेपालको आठौँ संस्करण २०२१ मा विजेता बन्न सफल ५ अब्बल राष्ट्रसेवक कर्मचारीहरूलाई ट्रफी, प्रमाणपत्र र प्रशंसापत्र सहित सम्मान गरिएको छ ।

सम्मानित हुने यस वर्षका इन्टिग्रिटि आइकनहरूमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, भेरी अस्पताल बाँकेका नर्सिङ अधिकृत शिला शर्मा, मकवानपुर गढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्ता चौधरी, र भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन रहेका छन् । सम्मानित इन्ट्रिग्रिटी आइकनहरूले आआफ्ना सेवा क्षेत्रमा विशिष्ट योगदान सहित कोरोनाका बीचमा पनि विशिष्ट कार्य सम्पादन गरेको तथ्य कार्यक्रम प्रस्तुत भिडियो क्लिपबाट प्रस्तुत गरिएको थियो । यसअघिको सातौँ इन्ट्रिगिटी आइकन २०२० सम्ममा ३५ जना राष्ट्रसेवक कर्मचारीहरू संस्थाबाट सम्मानित भई इन्टिग्रिटी आइकनहरूको आल्मुनाइ समेत गठन भई सुशासनका लागि प्रयत्नरत रहेको छ ।

कार्यक्रममा अख्तियार आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायको मन्तव्य भर्चुअल माध्यमबाट सुनाउनुभएको थियो । जुरी सदस्यहरू कानुनविद काशीराज दाहाल, पूर्व सचिव जीवनप्रभा लामासहित मन्तव्यमा सिएएन हिरो एवं बाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र लेखक तथा राजनीतिक विश्लेषक हरि शर्माले मन्तव्य राख्नु भएको थियो । हरि शर्माले हरेक व्यक्तिमा दैवी वा सत पक्ष र दैन्य असत पक्ष रहने भए पनि जसले सत मार्गमा लागेर निष्ठासाथ कर्तव्य पूरा गर्छ उनै व्यक्तिहरू जीवन, समाज र विश्वमै अब्बल र सफल ठानिने बताउनुभएको थियो ।

त्यसैगरी बाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा सिएएन हिरोले अनुराधा कोइरालाले हरेक व्यक्तिले जीवनमा समाजका लागि केही गर्न सक्दा मात्र मानवीय जीवनको मूल्य सार्थकता रहने भएकाले विपदका बिचमा पनि काम गरेर यस वर्ष आइकनका रूपमा सम्मानित राष्ट्रसेवकको योगदान महत्वपूर्ण भएको बताउदैै राष्ट्रसेवक कर्मचारीले नागरिकको दुःख र समस्यालाई सम्बोधन गर्न सक्नु नै राज्य सफलता भएको बताउनुभयो ।

कार्यक्रममा सम्मानित हुनेहरुलाई अनुराधा कोइराला, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी र कृषि मन्त्रालयका सहसचिवज्यूले ट्रफी, प्रमाणपत्र र धन्यवाद पत्र आइकनहरूलाई प्रदान गरेर सम्मान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा इन्टिग्रिटी आइकन नेपालका संस्थापक एवं संस्थाका कार्यकारी अधिकृत नारायण अधिकारीले आफूहरूले ८ वर्ष अघि थालनी गरेको नेपाल इन्टिग्रिटी आइकन हाल विश्वका १५ देशसम्म विस्तार भएको बताउनुभयो । उहाँले हालसम्म नेपालका ४० राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरेर नेपालको शासन र प्रशासकीय व्यवस्थामा सुशासन र नागरिकप्रतिको उत्तरदायित्व विकास गर्नमा आफूहरूको यो अभियान जारी रहेको बताउनुभयो । साथै उहाँले यस राष्ट्रसेवकका लागि नागरिक सम्मान अभियानमा विभिन्न सङ्घ, संस्था, व्यक्तिको उच्च योगदान रहेको र यसले निरन्तरता पाईरहने समेत बताउनुभयो ।

+ posts