
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १८ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस आइतबार सम्पन्न भएको छ । दिवसकै अवसरमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका ३ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपालमा बालबालिका र मातृ मृत्यु दर घट्नुमा स्वास्थ्य स्वंयसेविकाहरुको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै उहाँले महिला स्वास्थ्य स्वंयसेविकाहरुको कदर र मनोबल बढाउने उद्देश्यले यो दिवस मनाउँदै आइरहेको बताउनुभयो । महिला स्वंयसेविकाहरुले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा घरदैलोमा पुगेर आवश्यक स्वास्थ्य सेवा दिने काम गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले स्वास्थ्य कार्यकर्ताहरुलाई समाजिक र राजनीतिक कार्यकर्ताको रुपमा परिभाषित गर्दै राजनीतिक गतिविधिहरुमा पनि स्वास्थ्य स्वंयसेवकहरुले अभिरुचि पूर्वक चासो राख्नुपर्ने बताउनुभयो ।

समाजको निःस्वार्थ रुपमा सेवा गर्नु नै स्वास्थ्य स्वंयसेविकाहरुको कर्तव्य भएको बताउनुहुँदै उहाँले समयको परिपालना, अनुशासन, इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय सिंहदरबार वैद्यखानाको स्तर झनझन खस्किँदै गइरहेको र पर्याप्त औषधीको अभाव, आधुनिक उपकरण नहुँदा त्यसप्रतिको विश्वसनीयता घट्दै गइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वंयसेविकाहरुको भूमिका उल्लेखनीय रहँदै आएको बताउनुहुँदै उहाँले स्वंयसेविकाहरुले समुदायमा विभिन्न विषयमा सचेतना कार्यक्रमहरु गर्दै जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा महिला स्वास्थ्य स्वंयसेविकाको भूमिकाबारे चर्चा गर्नुहुँदै भक्तपुर नपाले स्टाफ नर्स र स्वास्थ्य स्वंयसेविकाबाट घरदैलो नर्सिङ सेवा पुनः सञ्चालनमा ल्याएको पनि अवगत गराउनुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य स्वंयसेविकाहरुले उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरे समाजमा त्यसको परिणाम पनि सकारात्मक हुने बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा, सुशासन लगायतका क्षेत्रमा स्थापित गरेको सेवा सुविधा सम्बन्धी व्यवस्था ख्वप मोडलको रुपमा जनजन जिब्रोमा झुन्डिन थालेको उहाँले चर्चा गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकको रुपमा स्थापित गरेको र उक्त संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गरेको बताउनुभयो ।
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसमास्वास्थ्य स्वंयसेविकाहरु वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, वडा नं. ८ का तारादेवी धन्छा र ५ का सजना कवांलाई सम्मान गरिएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 344580












