
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले सीप नभएको व्यक्ति र पढाई सँगसँगै आफ्नो योग्यताअनुसार रोजगारी नपाएका व्यक्ति सामाजिक र आर्थिक रुपमा पछि पर्ने बताउनुभयो ।
हातमा सीप भएको व्यक्ति जुनसुकै क्षेत्रमा अगाडि बढ्ने बताउनुहुँदै उहाँले आधुनिक युगको विकाससँगै प्राविधिक ज्ञानको आवश्यकता पनि बढ्दै गएको बताउनुभयो । उहाँले आर्थिक रुपमा परनिर्भर देश कहिल्यै पनि स्वतन्त्र रुपमा अगाडि बढ्न नसक्ने औंल्याउनुहुँदै हातमा सीप नभएको व्यक्ति कुनै पनि क्षेत्रमा काम नलाग्ने हुँदा युवाहरुले समयसापेक्ष तालिमहरु लिएर आफूलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

महिलाहरु पनि पुरुष सरह सामाजिक र राजनैतिक क्षेत्रमा अगाडि बढ्दै जान सके समाज पनि स्वतःस्फूर्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरु जनसहभागिता र जनश्रमदान पुनःनिर्माण भएकै आज ख्वप मोडल अगाडि बढिरहेको प्रष्ट पार्नुभयो ।
सरकारले युवाहरुको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरेकै कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै लाखौं युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउनुहुँदै उहाँले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै भक्तपुर नपाले यस आ.व. को नीति तथा कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका युवा तथा व्यवसायीहरुको लागि उद्यमशीलता कोषको व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बेरोजगारीको समस्या समाधान गर्न तालिमको आवश्यकता अपरिहार्य रहेको बताउनुहुँदै आत्मनिर्भरता र आत्मसम्मानको लागि पनि तालिमको महत्व धेरै रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले नपाबाट सञ्चालित तालिमहरु उपलब्धीमूलक भएको बताउनुभएको थियो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखु र वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीका तर्फबाट प्रमिला लघु र प्रशिक्षकका तर्फबाट धर्मलक्ष्मी लघुले तालिमको महत्वबारे आ–आफ्नो धारणा राख्नुभयो ।
भक्तपुर नपाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाई तालिममा २३ जना प्रशिक्षार्थी, ६ महिने पाक शिक्षा तालिमका २० जना प्रशिक्षार्थी र ६ महिने बुटिक तालिमका ११ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरुले तालिम प्राप्त गरेका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344581












