भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उहाँले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राख्नुभयो ।
जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरुको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल-भारतबीचको खुल्ला सीमा नियमित गरिनुपर्ने बताउँदै दुई देशबीचको खुल्ला सीमा बन्द भयो भने मात्र नेपालको धेरै समस्या समाधान हुने उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिंदै उहाँले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भन्नुभयो ।
सरकारले जनताका चाहना र समस्या सम्बोधन गर्नुपर्छ भन्दै सांसद सुवालले छिमेकी देश भारतमा प्रगतिशील सरकार नआएसम्म नेपालको विकास सम्भव नहुने स्पष्ट पार्नुभयो ।
काठमाडौं उपत्यकामा सहर र बस्तीको विकास भए पनि ढल र नदीहरुको व्यवस्थापन उचित ढंगले हुन नसकेको बताउँदै उहाँले सरकारमा गएका शासकहरुमा दुरदृष्टिको खाँचो औंल्याउनुभयो ।
सिस्नु रोपेर तुल्सी उम्रन्न भनेझैं योग्य विद्यार्थीहरु उत्पादन गर्न राम्रा शिक्षकहरुको आवश्यकता रहने बताउँदै कलेजमा पढ्ने राम्रा राम्रा विद्यार्थीहरुलाई असल शिक्षक बन्न उत्साहित गर्नुपर्छ भन्नुभयो ।
संघ र प्रदेशहरुले स्थानीय तहहरुको विकास निर्माणको काममा हस्तक्षेप गर्न नहुने धारणा राख्दै उहाँले विकास निर्माणमा स्थानीय जनताको सहभागिता, श्रमदानसहितको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी रुपमा सम्पन्न गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको स“धै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभयो । सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले संविधान र कानुनले दिएका अधिकारभित्र रही भक्तपुर बासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको चर्चा गर्दै उहाँले स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने भावनाअनुरुप काम गर्दै आएको र निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्ने चरणमा रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले संविधानको भावना र मर्मविपरीत स्थानीय तहलाई कानुन प्रदत्त अधिकार समेत सङ्घ र प्रदेश सरकारहरूले एक एक गरी अपहरण गर्ने कोशिस गर्दै आइरहेको बताउँदै यो संघ र प्रदेश सरकार सञ्चालन गर्नेहरूमा एकात्मक सोच हुनुको परिणाम हो भन्नुभयो ।
संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरेर सङ्घले छुट्टै कार्य गर्नु र संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय स्थापनाको प्रावधान राख्नु यसको उदाहरण भएको प्रष्ट पार्दै प्रमुख प्रजापतिले सङ्घ र प्रदेशले लामो समयसम्म संविधानमा रहेका साझा सूचीका अधिकारहरूबारे आवश्यक कानुनहरूको निर्माण नगर्नु, पुरानै ऐनहरू प्रचलनमा रहनुले पनि देशभरका स्थानीय तहहरूले समस्या भोग्दै आएको बताउनुभयो ।
स्थानीय तहले राम्रोसँग काम गर्ने हो भने त्यसलाई आवश्यक कर्मचारीको बन्दोबस्त गर्ने अधिकार हुनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले संविधान संशोधन गरेरै भए पनि स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन सङ्घ र प्रदेश सभाका माननीयज्यूहरूको ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले नगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताउनुभयो ।
नगरको शान्तिसुरक्षा अझ प्रभावकारी बनाउन नगरप्रहरीको व्यवस्था गर्दै आएको बताउँदै उहाँले नगरपालिकाको कर संकलन, नक्सा पास, आर्थिक र प्रशासनिक व्यवस्थामा समेट सफ्टवेयर प्रयोग गरी प्रविधिमैत्री सेवा प्रवाहको व्यवस्थाको लागि तयारी भइरहेको अवगत गराउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले नगरसभा पूर्ण सफलताको कामना गर्दै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य तथा जिप्रकाबाट भइरहेको सेवा प्रवाहबारे जानकारी दिनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले भक्तपुरको सेवा प्रवाह र विकास निर्माण कार्य देशकै लागि उदाहरणीय छ भन्दै भक्तपुर नपाले जनहितमा उत्कृष्ट कार्य गर्दै सबै क्षेत्रमा पारदर्शी र आर्थिक अनुशासनमा काम गर्दै आइरहेको बताउनुभयो ।
त्यस्तै ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको गरिमा बढ्दै गइरहेकोमा गौरव अनुभूति भएको बताउँदै ख्वप अस्पतालले आजबाट ब्रम्हायणी भवनबाट आइसीयु सेवा सञ्चालन गरिने जानकारी गराउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरुलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद सुवालले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भक्तपुर नपा वडा नं. १ का कविन्द्र कायष्ठलाई रु. १,५०,३१६। , भनपा ३ का मुकुन्दलाल प्रधानांगलाई रु. ३ लाख, भनपा ३ का सुनिल प्रजापतिलाई रु. १,४१,२१४।–, भनपा ४ का पूर्णभक्त ग्वाछालाई रु.१,६५,४५९।–, भनपा ४ का लक्ष्मीश्वरी कबुलाई रु. २,४१,२८७।– र भनपा ६ का राजेन्द्र अवाललाई रु. १,७०,५६२।– रुपैयाँ काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।
त्यस्तै भनपा वडा नं. ६ कै नारायणकृष्ण त्यातलाई रु. १,७०,२५६।–, भनपा ६ कै कृष्णबहादुर दुवाललाई रु. २,९३,३६१।–, भनपा वडा नं. १० का केशव शिल्पकारलाई रु. २,८२,२६७।– अनुदानस्वरुप प्रदान गरिएको थियो । भक्तपुर नपाले वितरण गरेको अनुदान रकम जम्मा रु. १९ लाख २४ हजार ७२५ रहेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news