भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर व्यवसाय धरासायी बनाएको बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग महासंघका केन्द्रीय अध्यक्ष तेवीन्द्ररत्न शाक्यले सरकारले साना व्यवसायीलाई करको चाङ्ग थोपरेको तर ठूला व्यवसायीलाई भने जे गरेपनि छुट दिएर विभेद गरेको बताउनुभयो । उहाँले सरकारले लगाएको करले डरलाग्दो अबस्था आएको बताउँदै भन्नुभयो, “गिद्दले सिनो हरेर बसेजस्तै गरि आन्तरिक राजस्व कार्यालय बसिरहेको छ, हरेक शिर्षकमा थर थोपरिरहेको छ, अबस्था डरलाग्दो छ । अब अन्तशुल्क कर ९५०० पनि तिर्ने कि नतिने अन्योलमा परेका छौँ ।”
उहाँले व्यवसाय बचाउन गुणस्तरीय खाना दिनुपर्ने बताउँदै गुणस्तर विभागले पनि अनावश्यक अनगमन गर्ने गरेको बताउनुभयो । उहाँले देशैभरि ८ हजार पार्टी प्यालेसहरु रहेको बताउँदै संघले करिब ८० हजार नागरिकलाई रोजगारी दिएको बताउनुभयो । उहाँले व्यवसाय बचाउन र सरकारलाई झक्झक्याउन पनि व्यवसायीहरु एक ढिक्का हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपरकी अध्यक्ष रोशनीमैया धौबञ्जारले अनुगमनको नाममा बेइमान भइरहेको भन्दै उद्यमी व्यवसायीमैत्री अनुगमन हुनुपर्ने बताउनुभयो । पार्टी प्यालेस संघले सामाजिक कार्यमा सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संघका बागमती प्रदेश संयोजक एवं प्रवक्ता गोकल देसारले राज्य पक्षबाट एक पछि अर्को कर थोपरेर व्यवसायनै धरापमा पार्ने कार्य सबत्र भइरहेको बताउनुभयो ।
कार्यक्रममा संघका ललितपुर अध्यक्ष एवं संघका केन्द्रीय महासचिव हिमकशोर कामदाङ राईले सामाजिक सुरक्षा ऐन २०३३ मा ५१ जना भन्दा बढी उपस्थिति गरएर भोजभतेर गर्न नपाउने व्यवस्था तत्काल समयानुकुल परिमार्जन गर्नु पर्ने बताउनुभयो ।
उहाँले व्यवसाय धरापमा पार्ने काम राज्य पक्षले गरिरहेको भन्दै कर कार्यालयले भ्याट किन कम तिरिस भनेर ताकेता गर्ने गरेको, दशैँ आएपछि अनुमगन गरेर दुःख दिने गरेको गीत संगीत रोयल्टी तिराउन पार्टी प्यालेसमा पत्राचार र ताकेता गरिरहेको बताउनुभयो ।
कार्यक्रम पार्टी प्यालेस सञ्चालकहरुलाई क्षेत्रफलको आधारमा वार्षिक २० हजार ३० हजार, ५० हजार र ७५ हजारको दरले लगाएको कर मान्य नहुने बताउनुभयो । यसै अबस्थामा संघले रायल्टी नतिर्ने उहाँले बताउनुभयो । राज्यले क्याटरिङ्ग व्यवसायलाई रु. ६५०० र पार्टी प्यालेसलाई रु. ९५०० का दरले अन्तशुल्क लगाउनु व्यवसाय धराप बनाउनु राज्य पक्षको षड्यन्त्र भएको भन्दै दशँैतिहारमा स्थानीय सरकारदेखि बिभिन्न निकायले गर्ने अनुगमनको आतंकले सबै व्यवसायलाई मारमा पारेको बताउनुभयो । अधिकार प्राप्त निकायले जुनसुकै बेलामा पनि अनुगमन गर्ने अधिकार भए पनि दशैँ र तिहारमा मात्रै अनुगमन गर्नुको पछाडि के छ भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा यूट्युबेलाई क्यामरा बोकाएर स्थानीय सरकार, खाद्य संस्थान, गुणस्तर बिभाग, आन्तरिक राजस्व कार्यालयले अनुगमन गर्नु, करोडौं लगानी गरेर बनाएको व्यवसाय धरापमा पार्ने गरि गोप्य स्थानको समेत भिडियो खिच्ने, गोपनीयताको अधिकार हनन गर्ने र बन्द कोठामा निरिक्षण गरेर करोडौं लगानी गरेर वर्षौ लगाए कमाएको साखलाई २ मिनेटमै सिध्याउने गरि अनुगमन हुने गरेको छ, यो आपत्तिजनक छ ।” भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले कोभिडमा संघले धेरै काम गरेको स्मरण गर्दै रोयल्टीमा आतंक मच्चाएर राज्यले माओवादी कालको चन्दा आतंकको झल्को दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी प्यालेसमा गीत बजाएको भन्दै रोयल्टी उठाउने भन्दै जथाभावी रोयल्टीको आतंक मच्चाएको देख्दा माओवादीको चन्दा आतंकको आभाष भएको छ । यसको बिरुद्ध आवाज उठाउनुपर्छ ।” कर छलि गर्नेलाई राज्यले केही गर्न नसकेको तर नियमित कर तिर्नेलाई राज्यका तीन तहले बिभिन्न कर थापरेर आतंक मच्चाएको बताउनुभयो । उहाँले स्थानीय सरकारले बाहल करको नाममा ज्यादती गरेको र जथाभावी करको दायरा बढाएर मारमा पारेको बताउनुभयो ।
पार्टी प्यालेसहरुले देशभरमा ५० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र अर्को एक लाखलाई अप्रत्यक्ष रोजगारी दिएको भन्दै सरकारले जबर जस्ती गरे सबै मजदुरलाई लगेर श्रम मन्त्रालय घेराऊ गर्ने भनाई राख्नुभयो। सरकारले पार्टी प्यालेस एवं क्याटरिङ्ग व्यवसायलाई पनि सेवा मूलक संस्थाका रुपमा सूचित गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष सचिन्द्र श्रेष्ठले संस्थाको प्रगति विवरण पेश गर्दै संस्थाको आवश्यक काम, समस्या समाधानका लागि संस्था मै क्रियासिल भएको बताउनुभयो । उहाँले कार्यक्रममा संघका सदस्यहरुको सहभागिता कम भएकोमा चासो व्यक्त गर्दै देशका लागि आवश्यक पर्दा संघले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले संघले महानगरीय ट्राफिक प्रहरी परिषर भक्तपुरको भवन निर्माणका लागि रु. १ लाख ५० हजार र सडकमा सीसी क्यामरा जडान गर्नका लागि ८५ लाख सहयोग गरेको बताउनुभयो । कार्यक्रममा संघको दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै संघले अध्यक्ष सचिन्द्र श्रेष्ठलाई सम्मान गरेको छ । संघका सचिव राजेन्द्र देउजाले सञ्चालन गर्नु भएको थियो ।
संघमा नयाँ नेतृत्व चयन
संघको पाँचौं अधिवेशनले सर्वसम्मत रुपमा सान्ताराम साङगाछेका अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षमा राजेन्द्र देउजा, सचिवमा इन्द्रभक्त श्रेष्ठ, सहसचिवमा मोहनलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्णचरण चौगुठी निर्वाचित हुनु भएको छ । त्यस्तै संघको सदस्यहरुमा भक्तलाल श्रेष्ठ, विष्णु थापा, ईश्वर श्रेष्ठ, महेश प्रजापति र शिवभक्त ह्यजु निर्वाचित हुनु भएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news