
भक्तपुर । बिहिबार बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ ।

वर्षा मध्यमदेखि भारी खालको रहेको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको बताइएको छ । यस्तै सिन्धुपाल्चोकको तार्केघ्याङ, सुनसरीको तहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टिस्टेटमा भारी वर्षा मापन भएको छ ।
भारतको उत्तर-पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ । यद्यपि पानी पार्ने यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा क्रमशः कमजोर हुँदै गएको छ ।
असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले बताएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।


आज जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।
कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
यसैगरी नेपालको सुदूरपश्चिम क्षेत्रसँग जोडिएको उत्तराखण्ड क्षेत्रबाट मनसुन बाहिरिएको छ । भारतीय मौसम विज्ञान विभागले जारी गरेको नक्सा अनुसार सुदूरपश्चिमका केही जिल्लाबाट पनि मनसुनी वायु हटेर पश्चिमी वायु प्रवेश गरिसकेको समेत बताएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
