चाँगुबासीको हितमा काम गरिरहेका छौं, तर प्रचारप्रसारको कमी भयो : नगरप्रमुख जीवन खत्री | Jana Aawaj News

चाँगुबासीको हितमा काम गरिरहेका छौं, तर प्रचारप्रसारको कमी भयो : नगरप्रमुख जीवन खत्री

पुरा भिडियो हेर्नुहोस् :

पढ्न लाग्ने समयः 5 मिनेट
चाँगुबासीको हितमा काम गरिरहेका छौं, तर प्रचारप्रसारको कमी भयो : नगरप्रमुख जीवन खत्री : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले आफ्ना स्थानीय तहका बासीन्दाहरुको हकहितमा नै काम गर्दै आएको दाबी गरेका छन् । आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको सभाहलमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा नगरप्रमुख खत्रीले नगरबासीको आवश्यकताको क्षेत्रमा नै कार्य गरिएको तर प्रचारप्रसारको कमीले लोकप्रियता नकमाएको बारे बताएका हुन् ।

‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । तर, प्रचारप्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीहरुसमक्ष पुगेको भने छैन ।’, नगरप्रमुख खत्रीले भने ।

चाँगुनारायण नगरपालिका सरसफाइको तालिम दिने र वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगरसमेत रहेको उनले बताए ।

कार्यक्रममा नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा रहेर सबैमा समान सेवा दिइरहेको दाबी गरे । कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको उनले बताए । नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ दिइरहेकोसमेत उनले दाबी गरे ।

नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नति आदिका कार्यहरुका लागि याजना बनाइरहेको जानकारी दिए । तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्डको समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने उनले बताए ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा विभिन्न क्षेत्रमा असर गरेको छ । मानवीय क्षति नभएको भएतापनि भौतिक क्षति धेरै भएको बताउँदै उनले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोष खडा गरेको उनले जानकारी दिए ।

अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या भने रहेको बताए । तर, त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको उनले जानकारी दिए । साथै, बस नलाग्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएकोसमेत उनले जानकारी दिए ।

हाल नगरपालिकाले चाँगुनारायण नगर अस्पताल सञ्चालन गरेको तर त्यसले हालसम्म सरकारबाट स्वीकृति भने नपाएको उनले जानकारी दिए । नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गरेको भएतापनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेको उनले जानकारी दिए ।

नगरपालिकाले हाल स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको उनले जानकारी दिए । खेलकुदले स्वस्थ रहन मद्दत गर्ने र उत्कृष्ठ प्रदर्शन गर्दै गएमा देशकै नाम राख्न समेत सक्ने बताउँदै स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएको उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

शिक्षा क्षेत्रमा पनि नगरपालिकाले विभिन्न आवश्यक सहयोग गर्दै आएको उनले दाबी गरे । आवश्यक पूर्वाधारदेखि लिएर शिक्षकरुको व्यवस्थापनसमेतमा सहयोग पुर्याउँदै आएर शैक्षिक गुणस्तर उकास्न सहयोग गरिरहेको उनले बताए ।

चाँगुनारायण नगरपालिकाका प्रायः वडामा ग्रामिण बस्ती छन् र मानिसहरुको आम्दानीको प्रमुख स्रोत कृषि छ । नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आएको छ । तर, मानिसहरुले कृषियोग्य जमिनलाई आवासयोग्य भन्दै दर्ता गराउनाले नगरपालिकालाई पर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । तर, नगरपालिकाले पशुपालनमा भने उल्लेख्य प्रगति गरेको उनले दाबी गरे ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापन र खानेपानीको क्षेत्रमा पनि कार्य गरिरहेको उनले बताए । एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्नका लागि बजेट विनियोजन गरिएको र कार्यान्वयन समेत गरिरहेको उनले जानकारी दिए । तर, चाँगुनारायण मन्दिर नजिकैको फोहोर भने हटाउन नसकिएको स्वीकार गरे । २०५४ सालदेखि नै त्यहाँ फोहोर फाल्न नदिने भनिएको र विभिन्न प्रयास गर्दै आइएको भएतापनि नसकिएको उनले बताए । अब, त्यसका लागि स्थानीयलाई नै सचेतनामूलक तालिम दिन आवश्यक रहेको र चाँडै नै दिइने प्रतिवद्धता उनले व्यक्त गरे ।

हालैको बाढी पहिरोले ‘डोजरे विकास’ भएका क्षेत्रमा बढी क्षति भएको भनेर मानिसहरुको गुनासो आएको उनले बताए । तर, प्रक्रिया अनुसार नै नगरपालिकाको स्वीकृति लिएर भएका कार्यहरुमा अवरोध गर्न नमिल्ने उनले बताए । मनलाग्दी जथाभावी तरिकाले डोजर लगाएको खण्डमा भन जरिवाना लगाइएको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका अधिकृत सुरज पौडेलले सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरु भइरहेको दाबी गरे । वडा कार्यालयको भवन निर्माण भइरहेको साथै, बाढीपहिरोले बिगारेको सडकहरुको पुनःनिर्माणका कार्यहरु पनि सँगसँगै लगिएको उनले बताए ।

नगरपालिकाले भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै लैजाने उद्देश्यले विभिन्न तालिम, गोष्ठी आदिको आयोजनासमेत गर्दै आएको पौडेलले बताए । साथै, नगरपालिकाले निःशुल्क रगत र अक्सिजनको व्यवस्था समेत गर्ने उनले बताए ।

अन्तरक्रित्मक कार्यक्रममा नगरपालिकाका २ नं वडाका सोम प्रधान ६ नं वडाका वडाध्यक्ष धन बहादुर लामा, ७ नं वडाका वडाध्यक्ष श्याम श्रेष्ठ, साथै विभिन्न शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी सोही वडाको सामुदायिक विद्यालयको रहेको उनले बताए । तर, सामुदायिक विद्यालय पढाउने शिक्षकले आफ्ना बालबालिकाहरु भने निजी विद्यालयमा पढाउँदा विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको उनले बताए । वडा बासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ् कार्यक्रम’ लागू गराउने उनले जानकारी दिए । तर, हाल वडाको स्वास्थ्य चौकीमा सेवा लिन आउने संख्या भने निकै नै कम रहेको उनले बताए ।

६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पुरा गर्ने प्रयास गरिएको दाबी गरे । वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोसमेत उनले जानकारी दिए । तर नगरपालिकाकै आम्दानीको सा्रेतमा रहेको पर्यटकहरुको आकर्षणको केन्द्र मानिने नगरकोटमा हाल पर्यटकहरुको आगमनमा कमी आएको उनले बताए । भूकम्पका कारण थलिएको अर्थतनत्त र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पर्यटक घट्दै गएको र हालको समयमा सडकको अवस्था पनि निकै नै खराब रहेका कारण पर्यटकको संख्या घट्दै गएको उनले बताए । त्यसका लागि नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि-ब्राण्डिङ’ गर्न आवश्यक रहेको उनले बताए । हिन्दु धर्मको स्कन्दपुराणलाई आधार बनाएर महादेवपोखरी र बौद्ध धर्मको स्वयम्भू पुराणलाई आधार मानेर महामञ्जुश्रीको प्रचारप्रसार गर्न सके विभिन्न देशका पर्यटकहरु धार्मिक पर्यटनका लागिसमेत उक्त स्थान आउन सक्ने लामाले बताए ।

कार्यक्रममा बोल्दै ७ नम्बर वडाका अध्यक्ष श्याम श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरुलाई निरन्तरता दिएको बताए । धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण आदिका कार्यहरु समेत गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए । उनले पुरातात्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औंल्याएका थिए ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले विभिन्न क्षेत्रका कार्यप्रगतिबारे जिज्ञासा राखेका थिए र नगरका उपप्रमुख बुढाथोकीले प्रश्नहरुको जवाफ दिएका थिए ।

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन खत्री प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रमको सुरुवातमा केन्द्रका उपाध्यक्ष पुष्कर राज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्वागत मन्तब्य राखेका थिए ।


पुरा भिडियो हेर्नुहोस् :

+ posts
ताजा
1 विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा
2 बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
3 १० हजार भन्दा बढी बालबालिका विभिन्न क्षेत्रमा बालश्रमिकका रुपमा छन् : शिक्षा मन्त्री भट्टराई
4 भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न