सरकारी अस्पतालका डाक्टरहरुले निजी अस्पताल सञ्चालन गरेमा कारबाही गरिने : मन्त्री पौडेल | Jana Aawaj News

सरकारी अस्पतालका डाक्टरहरुले निजी अस्पताल सञ्चालन गरेमा कारबाही गरिने : मन्त्री पौडेल

पढ्न लाग्ने समयः 2 मिनेट
सरकारी अस्पतालका डाक्टरहरुले निजी अस्पताल सञ्चालन गरेमा कारबाही गरिने : मन्त्री पौडेल : Jana Aawaj News

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेलको उपस्थिति काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाका प्रमुखहरुसँग स्वास्थ्य सेवा सुधारका विषयमा समन्वय तथा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघीय अस्पतालहरुमा बिरामीको चाप बढिरहेको बताउँदै सरकारी अस्पतालको सेवा उपलब्धताको आधारमा अस्पतालहरुको
वर्गीकरण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । स्वास्थ्य बीमामा आबद्ध अस्पतालहरुबाट गरिने रिफर सिस्टमलाई व्यवस्थित बनाउने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु आवश्यक भएको बताउँदै उहाँले उपत्यकाभित्र प्रत्येक वडामा एकवटा स्वास्थ्य केन्द्र अनिवार्य सञ्चालन गर्ने नीति अगाडि सारेको बताउनुभयो ।

मन्त्री पौडेलले समय समयमा अस्पतालहरुमा अनुगमन गर्नुपर्ने बताउँदै उहाँले सबै सरकारी अस्पतालहरुमा आवश्यक जनशक्तिको व्यवस्था र स्वास्थ्य उपकरणहरुको व्यवस्थापनतर्फ मन्त्रालयले जोड दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले सरकारी अस्पतालको डाइरेक्टर भएर निजी अस्पताल सञ्चालन गर्नेहरुलाई पदबाट हटाउनुपर्ने बताउनुभयो । छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै उहाँले आधारभूत अस्पताललाई बलियो बनाउने उद्देश्य मन्त्रालयले लिएको बताउँदै वायु प्रदूषण नियन्त्रणमा प्रदेश सरकार र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताउनुभयो ।
महिला स्वास्थ्य स्वंय सेविकाहरुले निःस्वार्थ रुपमा सेवा दिनुपर्ने बताउँदै उहाँले स्वास्थ्य स्वंय सेविकाहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा सकारात्मक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी नपाउँदा सरकारी अस्पतालहरुले समस्या भोगिरहेको बताउँदै सरकारले डेंगु रोगबारे समयमै उचित कदम चाल्न नसकेकोमा सरकारको आलोचना भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले ५४१ जनालाई प्रसुती सेवा प्रदान गरिसक्दा पनि न बीमाले भुक्तानी दियो न त आमा सुरक्षा कार्यक्रमले नै केही सहयोग ग¥यो, सबै खर्च नगरपालिकाले नै व्यहोरिरहेको जानकारी दिनुभयो । उहाँले उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग, मस्तिष्कघातजस्ता नसर्ने रोगहरु बढिरहेको हुँदा जनचेतना कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा डाइलासिस सेवाको लागि मेसिनको व्यवस्था भएमा बिरामीहरुलाई सहज हुने बताउँदै प्रमुख प्रजापतिले मेसिन उपलब्ध भएको खण्डमा ख्वप अस्पताल डाइलासिस सेवा सुरु गर्न तयारी अवस्थामा रहेको बताउनुभयो ।
सरकारी अस्पतालमा हाजिर गरेर निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुलाई कारबाही गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गर्दै उहाँले भागबण्डामा डाक्टर नियुक्ति हुने विषयको अन्त्य हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नपा प्रमुख दिपककुमार रिसालले गोकर्णेश्वर नपाले पाक्षिक रुपमा नसर्ने रोगअन्तर्गत पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दैै आएको बताउनुभयो ।
चन्द्रागिरी नपा प्रमुख घनश्याम गिरीले उपत्यका बाहिरका आधारभूत तहलाई फरक ढंगले सोच्नुपर्ने बताउँदै चन्द्रागिरी नपाले विद्यालय नर्स सेवामा महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गरिरहेको बताउनुभयो ।
गोदावरी नपा प्रमुख गजेन्द्र महर्जनले संघ, प्रदेश र नगर अस्पतालको सेवा सुविधा प्रदान गर्ने विषयमा वर्गीकरण हुनु आवश्यक भएको बताउँदै प्राथमिक स्वास्थ्य उपचार केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमी नपा प्रमुख सुरेन्द्र श्रेष्ठ, शंखरापुर नपा प्रमुख रमेश नापित, किर्तिपुर नपा प्रमुख कृष्णमान डंगोल तथा काठमाडौं र ललितपुर स्वास्थ्य शाखाका प्रतिनिधिहरुले स्वास्थ्य सुधारका विषयमा आ–आफ्नो राय दिनुभएको थियो ।
उक्त छलफलमा ठूला अस्पतालहरुमा सहज स्वास्थ्य सेवा प्रवाह, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, नसर्ने रोग रोकथाम तथा नियन्त्रण (फागुन महिना ः नसर्ने रोग स्क्रिनिङ महिना), वायु प्रदूषण नियन्त्रण, सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धमा छलफल भएको थियो । मन्त्रालयले उपत्यकाका महानगर तथा नगरपालिकाहरुलाई १५ दिनभित्र माथि उल्लेखित विषयमा राय सुझाव पठाउन अनुरोध
गरेको थियो ।

+ posts
ताजा
1 नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
2 मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ
3 मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली
4 स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न