बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै | Jana Aawaj News

बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै

पढ्न लाग्ने समयः 2 मिनेट
बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर चैत्र ७ । बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ ।

बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा आयोजना हुनेछ भने कथा वाचन संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवज्यूबाट हुनेछ ।

सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ प्रचारप्रसार समितिका संयोजक पेशल आचार्यले जानकारी दिए ।

‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ का संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ ।

केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य रहेको अवस्थामा संघकै अगुवाइमा व्यवस्थापनको काम हुँदै आइरहेको छ। संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा कम हुँदै गएको छ भने सडकमा बेवारिसे फेलापरेकाहरुलाई झौखेलमा अस्थायी बासको व्यवस्था गरि राखिएको छ ।

संस्थाका अध्यक्ष सुमी मानवका अनुसार त्यसअघि २०७२ देखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरिएको थियो । संघले हालसम्म २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको छ ।

हाल भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङ शाखामा कार्यालय स्थापना गरेर संघले पाँच सय जनालाई आश्रय दिंदै आइरहेको छ। महायज्ञमार्फत सेवाहरूलाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघका अध्यक्ष मानवले जानकारी दिइन्।
त्यसैगरी महायज्ञ आयोजनाको संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञको वारेमा पत्रकार सम्मेलनमा सम्पूर्ण जानकारी गाराएका थिए । त्यसैगरी महायज्ञ समारोहका सहसंयोजक जुना बस्नेत र मधु ढुंगेल तथा कोषाध्यक्ष नरेश रञ्जितले मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा महायज्ञका प्रेस संयोजक पेशल आचार्यले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए ।

महायज्ञको मुख्य कार्यक्रम अन्तर्गत चैत्र २१ गते बिहान ७ देखि ९ बजेसम्म पुर्वाङ्ग हुनेछ भने सोही दिन विहान ९ बजे महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ । महायज्ञको समुद्घाटन २१ गते दिउँसो साँढे १२ बजे हुनेछ ।

यस्तै लक्ष्यवर्तिका प्रज्वलन चैत्र २६ र २७ गते तथा समापन चैत्र २७ गते हुने बताइएको छ । महायज्ञ अन्तर्गत बिहान ५ देखि ७ बजेसम्म दैनिक योगाभ्यास, ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म संगीतमय कथावाचन, सवा ४ बजे आरती तथा साँढे ४ बजे प्रसाद वितरण गरिने छ ।

यस्तै दैनिक रुपमा साँझ ६ देख ९ बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन हुने संघले जानकारी दिएको छ ।

+ posts