भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा | Jana Aawaj News

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा

पढ्न लाग्ने समयः 3 मिनेट
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्यअनुसार यस नगर अगाडि बढिरहेको बताउँदै शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसलहरु सञ्चालन गर्न दिन नहुने धाराणा व्यक्त गर्नुभयो ।

उहाँले उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्ने बताउँदै पत्रु खानेकुराले जनताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुँदा स्वस्थकर खानेकुरा सेवनतर्फ जनतालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क राख्नुभयो ।

कलेजका शिक्षकहरु विद्यालयहरुमा गई अनुगमन गरी आवश्यक सुझाव दिने प्रावधानले विद्यालय शिक्षाको स्तर अझ माथि उठ्ने बताउँदै उहाँले देशको सन्तुलित विकासतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१।८२ मा नगरपालिकाले गरेका महŒवपूर्ण कामहरुको चर्चा गर्दै नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अन्य कार्यहरुको अतिरिक्त हरेक वर्ष एउटा नगरस्तरीय महत्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्यअनुरुप काम गर्दै आएको बताउनुभयो ।
भक्तपुरका अग्रजहरुले गरेको त्याग, परिश्रम र दुःखको परिणामस्वरुप भक्तपुर आजको अवस्थामा आइपुग्न सम्भव भएको बताउँदै प्रमुख प्रजापतिले राजनीतिक दलका नेताहरु कल्पनाशील, देश र जनतामा समर्पित भए विकास छिटै सम्भव हुन्छ भन्ने एक उदाहरण भक्तपुर बन्दैछ भन्नुभयो ।

स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मान्यता रहेको बताउँदै देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो भन्ने मान्यतालाई आत्मसात गर्दै जनप्रतिनिधिहरुको क्षमताले भ्याएसम्म भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोगविना भक्तपुरको विकास सम्भव नभएको बताउँदै जनतालाई निर्वाचनको समयमा दिएको वाचाअनुसार भक्तपुर नपाले घोषणापत्रलाई आधार बनाई काम गर्दै आएको बताउनुभयो ।
सहप्राध्यापक विश्वमोहन जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले धेरै उपलब्धीमूलक कार्यहरु गर्दै आएको बताउँदै जनताको साथ र सहयोगमा मात्र भक्तपुरको आजको विकास सम्भव भएको बताउनुभयो । उहाँले नगरपालिकालाई केही रचनात्मक सुझावहरु दिँदै भक्तपुर कृषि प्रधान नगर भएको हुँदा उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई जोड दिनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यान, एमआरआईजस्ता सुविधाहरु थप्दै लानुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप कलेज अफ इन्जिनियरिङमा स्थापना कालदेखि हासम्म २ हजार ७६९ विद्यार्थी भर्ना भई अध्ययन गरेकोमा हालसम्म १ हजार ५६४ विद्यार्थीहरुले अध्ययन पूरा गरिसकेको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा फड्को मारिसकेको बताउँदै कम शुल्कमा गुणस्तरीय सेवा नै ख्वप अस्पतालको प्रतिबद्धता हो भन्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले ख्वप कलेज अफ ल सञ्चालन प्रारम्भ भएको ३ वर्ष अवधिमा वर्षको ६० जनाको दरले १८० जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै ल कलेजमा हाल ४२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो ।
ख्वप माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यले ख्वप मा.वि. को प्रगति प्रतिवेदन सुनाउँदै कलेज स्थापनादेखि हालसम्म २५ हजार ५३३ जना विद्यार्थीहरुले अध्ययन गरिसकेको र हरेक वर्ष रु. १ करोड ३० लाख भन्दा बढी रकम छात्रबृत्ति पनि वितरण गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु. ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीलाई रु. ३ लाख, वडा नं. ५ का मनिषा साखलाई रु. १ लाख ४ हजार ५९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु. २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं. ५ का राधेश्याम तुल्सीबाख्योलाई रु. १ लाख २१ हजार १७०, वडा नं. ९ का शिवप्रसाद श्रेष्ठलाई रु. १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई रु. ३ लाख गरी जम्मा रु. १४ लाख ७५ हजार १४४ रुपैयाँ रुपैंया बराबर काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई र ३० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई कदर–पत्र र दीर्घ सेवा सम्मान गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्दै जनप्रतिनिधि, कर्मचारी र जनताको एकताले नै आजको भक्तपुर निर्माण भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न