प्रधानमन्त्रीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन | Jana Aawaj News

प्रधानमन्त्रीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन

पढ्न लाग्ने समयः 2 मिनेट
प्रधानमन्त्रीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन : Jana Aawaj News

काठमाडौँ, ८ भदौ । नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवसथासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपलाभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरु र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीयरुपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्री र राज्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।

दिवसका क्रममा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ । यस्तै दिवसको अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेशनल डे कन्सर्ट) आयोजना, जनस्तरका झाँकीहरु प्रदर्शनी आदि कार्यक्रम प्रस्ताव गरिएको छ ।

दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहित पक्षहरुमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणा दस वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेषरुपमा मनाउन आग्रह गर्दै संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशीताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिकरुपमा जनतालाई संविधानको उपलब्धि र महत्वसँग एकाकार गराउन आग्रह गर्नुभयो ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न