भक्तपुर दरबार क्षेत्रमा विदेशी पर्यटक बढ्दै (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

भक्तपुर दरबार क्षेत्रमा विदेशी पर्यटक बढ्दै (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
भक्तपुर दरबार क्षेत्रमा विदेशी पर्यटक बढ्दै (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

नारायण थापा
भक्तपुर । भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा भक्तपुर नगरमा पर्यटकहरूको चहलपहल दिन प्रतिदिन बढ्दै छ ।
भक्तपुर दरबार क्षेत्र (नेवारीःख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ । भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा ख्वोपामा अवस्थित छ । यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ । यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र) रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ । यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो ।
इतिहास :
भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए ।
मुख्य आकर्षणहरू :
पचपन्न झ्याले दरबार
पचपन्न झ्याले दरबार नेवारीः ङेङापा झ्यः लायकू) को निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने, उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल सम्वत ८२८ (विक्रम सम्वत् १७६५) मा भएको थियो ।
वत्सल्य देवी मन्दिर
भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो । ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सल्य देवी रहेकी छिन् । यो मन्दिर आफ्नो चाँदीको ठूलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ । स्थानीय वासीको अनुसार यस मन्दिरको ठूलो घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुँक्ने र कराउने गर्दछन् । सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो । यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना ९सार्क राष्ट्र र चीनका पर्यटकहरू० रहेका छन् । सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाखभन्दा बढी रूपैयाँ सङ्कलन भएको छ । यसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाखभन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।


आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । यसमा आ.व. २०७८/७९ मा गैरसार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ । आ.व. २०७८/७९ मा ४ करोड ८९ लाखभन्दा बढी पर्यटन शुल्क उठेको थियो । यसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाखभन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५०० रूपैयाँ पर्यटन शुल्क उठेको थियो ।


आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरूको सङ्ख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २४७ जना र सार्क र चीनका ४९ हजार ८४५ जना पर्यटकहरू रहेका छन् । त्यस्तै आ.व. २०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा रु. १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो ।


भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आ.व. २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इङ्ल्यान्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्यान्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरूले भक्तपुर भ्रमण गरेका छन् ।


भक्तपुर नगरपालिकाले हाल खौमा, सानो ब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरूबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरूलाई नपाले तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ ।


भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रतिपर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरूलाई रु. ५००।– शुल्क सङ्कलन गर्दै आएको छ ।

 

+ posts