बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा | Jana Aawaj News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

पढ्न लाग्ने समयः 2 मिनेट
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गर्नुभएको छ ।

भ्रमणका क्रममा स्वास्थ्यमन्त्री लामाको बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये आफ्नो छुट्टै पहिचान र सांस्कृतिक नगरीको रुपमा चिनाउन सफल भक्तपुरको विकास र प्रगतिबाट आफू निकै प्रभावित भएको बताउनुभयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरणहरुबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुहुँदै सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरुप्रति अपनत्व बढेको बताउनुहुँदै मन्त्री लामाले इमानदार जनप्रतिनिधिको पहलकै कारण भक्तपुरले आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको हो भन्नुभयो । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुले भक्तपुर भ्रमणलाई प्राथमिकतामा राखी यहाँ घुम्न आउने गरेको स्मरण गर्नुहुँदै मन्त्री लामाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय छ र अब स्वास्थ्य क्षेत्रमा पनि यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री लामाले बागमती प्रदेशले क्यान्सर रोगी बिरामीहरुको लागि रु। ५० हजारको आर्थिक सहयोगलाई निरन्तरता दिँदै आएको बताउनुहुँदै विद्यालय नर्स कार्यक्रमलाई अझ व्यापकता दिँदै जाने योजना साथ अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले ख्वप अस्पताललाई १०० शैय्याको स्विकृतिको लागि सहयोग गर्नुभएकोमा मन्त्री लामा र प्रदेश साँसदहरुलाई धन्यवाद दिनुहुँदै उक्त अस्पतालले गत आ.ब. ४५ भन्दा बढी जिल्लाका १ लाख ७० हजार भन्दा जनतालाई सस्तोमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको अवगत गराउनुभयो । उहाँले ख्वप अस्पतालले दैनिक ७०० भन्दा बढी बिरामीहरुको सेवा गरिरहेको पनि सो अवसरमा जानकारी दिनुभयो ।

ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोगको लागि संघ र प्रदेश सरकार समक्ष पटक पटक अनुरोध गरिसकेको बताउनुहुँदै उहाँले सिटीस्क्यान, एमआरआइ जस्ता स्वास्थ्य सामग्री नहुँदा जनताले धेरै दुःख पाइरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाले व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरु न्यून शुल्कमा स्तरीय सेवासुविधा प्रदान गर्दै समाजवादउन्मुख दिशातर्फ अगाडि बढिरहेको प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने चरणमा नगरपालिका प्रवेश गरिसकेको बताउनुभयो ।
आत्मनिर्भर अर्थतन्त्रको विकासले मात्रै देशको विकास सम्भव हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले विदेशीको सहयोगविना भक्तपुरका जनताको आफ्नै पहलमा क्षतिग्रष्ट १२६ वटाभन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको संक्षिप्त परिचय तथा विशेषताबारे अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र अस्पतालबाट प्रवाहित सेवा सुविधाबारे पनि अवगत गराउनुभयो ।

सोही क्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले अन्तर्राष्ट्रिय जगतबाट भक्तपुरको विकास र समृद्धिबारे राम्रो मूल्यांकन भइरहेको बताउनुहुँदै नगरपालिकाको आफ्नै प्रयासबाट पुनःनिर्मित भक्तपुरका सम्पदाहरु विश्वमै गौरव गर्न लायक भएको बताउनुभयो ।
प्रदेश सरकारबाट ख्वप अस्पतालको लागि हुने सहयोगले नगर र नगरबासीका साथै विभिन्न जिल्लाबाट आएका बिरामीहरुको समेत हित हुने बताउनुहुँदै उहाँले भक्तपुरको पर्यटन र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै लानुपर्ने बताउनुभयो ।
कार्यक्रमपश्चात स्वास्थ्यमन्त्री लामाले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा मावि, शारदा कलेज, ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल अन्तरंग सेवा, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गर्नुभयो । अवलोकनका क्रममा स्वास्थ्यमन्त्री लामाले नपाबाट सञ्चालित कलेज तथा अस्पताल स्थापनाको उद्देश्य र त्यहाँबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे जानकारी लिनुभयो ।
उहाँले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाबाट सञ्चालित कलेजहरुले निकै ठूलो योगदान पुर्याइरहेको बताउनुहुँदै भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कल अन्तर्गतका कलेज र अस्पतालको प्रगति उल्लेखनीय रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेमकिपा बागमती प्रदेशका सभासद् सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।

 

+ posts